आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्ती हो । देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी आज भानु जयन्ती मनाइन्छ ।आजकाे दिनमा नेपाली लोकलयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा साहित्यिक गतिविधिकाे आयोजना गरिन्छ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा भानुभक्तको जन्म भएको थियो । उनलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती–उपदेश दिएका थिए थिए भन्ने जनश्रुती रहेको छ ।
भानुभक्तले साहित्य सिर्जना गरे र नाम कमाए । उनले संस्कृत भाषामा लेखिएको रामायणलाई नेपालीमा उल्था गरेका थिए ।
पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकीकरण गरेको बिज्ञहरुको तर्क छ ।
भानुभक्तका ‘वधुशिक्षा’, ‘प्रश्नोत्तरी’, ‘भक्तमाला’, ‘रामगीता’लगायत कृति चर्चित छन् ।भानुभक्तकाे १९२५ असोज ६ गते निधन भएको थियो। नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रूपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रूपमा प्रख्यात छन्।
