काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार । पशुपतिनाथको मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

यता काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउने सोमबारको व्रत बस्ने र पूजा गर्न आएका भक्तजन तथा बोलबम यात्रुको भीड लागेको हो । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउन भक्तजन आउने गर्दछन् ।

साउन महिनाको सोमबार विवाहित महिलाले व्रत बसेमा अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यस्तै अविवाहित महिलाले व्रत बसेमा चाहेको जस्तो वर प्राप्त हुने विश्वास रहेको छ ।

भक्तजन/दर्शनार्थीका लागि बिहानैदेखि मन्दिरमा सहज रूपमा दर्शन गर्ने व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको बताइएको छ ।

यस्तै आज पशुपतिनाथका साथै गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत देशभरका शिवालयमा दर्शन गर्ने तथा पूजा गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version