काठमाण्डौ – भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ । नयाँ दिल्लीमा रहेको प्रधानमन्त्री निवासमा हिजो बेलुका भएको भेटमा परराष्ट्रमन्त्री राणा र प्रधानमन्त्री मोदीबीच नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको छ । साथै मन्त्री राणाले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ ।

भेटपछि सामाजिक सञ्जाल एक्स अर्थात् ट्वीटरमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तोपत्र मोदीलाई हस्तान्त्ररण गरेको जानकारी दिनुभएको छ । भेटका क्रममा नेपाल–भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीका तर्फबाट शुभकामनासमेत सुनाउनुभएको उल्लेख छ । मोदीले निमन्त्रणाप्रति धन्यवाद व्यक्त गर्दै चाँडै नै नेपाल भ्रमणमा आउने इच्छा व्यक्त गर्नुभएको छ ।

त्यसअघि हिजो मन्त्री डा.राणाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गर्नुभएको थियो । भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा मन्त्री राणा आइतवार भारतको औपचारिक भ्रमणमा जानुभएको हो । उहाँ पर्सि भदौ ६ गते स्वदेश फर्कनुहुने तालिका छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version