काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि धरहरा खुला गर्ने बताउनु भएको छ । बुधवार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरुसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री सिंहले धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरुका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने जानकारी दिनुभयो । उहाँले संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेकाले नयाँ शहरहरुलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले नयाँ संसद भवन आफू मन्त्री भएर आउँदा नै ८२ प्रतिशत काम सकिसकेको र अहिले काम जारी रहेकाले समयसीमाभित्रै काम सकेर सञ्चालन गर्ने तयारी रहेको पनि बताउनुभयो । उहाँले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पनि आवश्यक छलफल भइरहेको बताउनुभयो । राजधानीलाई सुधार गर्नुपर्छ भन्नेमा आफू सहमत रहेको र त्यसका लागि काम शुरु गरिसकेको पनि बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले सरकारले अहिले नीति निर्माणमा नै बढी जोड दिइरहेको बताउनुभयो ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version