काठमाडौं। आज कुशे औंसी तथा बुबाको मुख हेर्ने दिन। हरेक वर्ष भदौ कृष्ण पक्षको औँसीका दिन कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनलाई विशेस पर्वका रुपमा मनाउने गरिन्छ ।

आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी पर्व मनाइँदै छ। कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ। सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्।

यस्तै, पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुवाको मुख हेर्ने दिन मनाइँदैछ। बुवा हुनेले मिठामिठा परिकार बनाएर खुवाउने तथा लुगाफाटो तथा विविध उपहार दिने चलन छ।

बुवा नहुनेले विभिन्न तीर्थस्थलमा गई तपर्ण तथा श्राद्ध गर्ने परम्परा छ। आजको दिन काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पनि विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।

यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भिड लाग्ने गर्छ। यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि मेला लाग्छ ।

Share.

Comments are closed.

Exit mobile version