चितवन – चेपाङ समुदायले आज छोनाम अर्थात न्वागी पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो ।

यसपटक गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाँडामा भेला भई नाचगानगरी पर्व मनाउन लागिएको उहाँले बताउनुभयो । गत वर्ष धादिङ गजुरी गाउँपालिका–५ च्याङ्लीमा सामूहिक रुपमा भेला भएर न्वागी मनाइएको थियो । चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वागी मनाउने गरिएको छ ।

वि.सं.२०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक रूपमा उत्सवकै रुपमा न्वागी मनाउँदै आइएको छ । भदौ २२ गते सामूहिक रुपमा न्वागी मनाउँदै आए पनि आफ्नो कुलअनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि महिनाभर न्वागी मनाउने परम्परा छ ।

चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफुल र अन्नपात खान हुँदैन भन्ने मान्यता छ । न्वागी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफुल पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खान शुरु गर्ने दिनका रुपमा पनि लिइन्छ । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खुवाउने चलन छ ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् । यस्तै मकवानपुरमा २३ हजार छ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version