काठमाण्डाै – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र क्यानडाका विदेशमन्त्री मेलानी जोलीबीच भेटवार्ता भएको छ । क्यानडाको ओटावामा हिजो भएको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाल–क्यानडा सम्बन्धका विभिन्न पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवम् साझेदारी लगायतका विषयमा कुराकानी भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

भेटका क्रममा परराष्ट्रमन्त्री राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानडाले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्दै नेपालको संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरू पनि पूर्ण हुने जानकारी दिनुभएको छ । उहाँले नेपालमा क्यानडाको राजदूतावास स्थापनाका लागि क्यानडा सरकारलाई आग्रह पनि गर्नुभएको छ ।

क्यानडाका विदेशमन्त्री जोलीको निमन्त्रणामा विश्वका महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री राणा क्यानडा जानुभएको हो । नेपाल र क्यानडाले आउँदाे वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सव मनाउँदै छन् ।

क्यानडा भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री राणा र क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीबीच पनि भेटवार्ता भएको छ ।

Share.

Comments are closed.

Exit mobile version