काठमाण्डाै । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रमा सुधारको प्रारम्भिक सङ्केत देखिए पनि अझै केही क्षेत्रमा सुधारको पहल आवश्यक रहेको जनाएको छ ।
आईएमएफको श्रीलङ्काका लागि आवासीय प्रतिनिधि सारवत् जहाँको नेतृत्वमा यही सेप्टेम्बर ११ देखि २२ तारिखसम्म नेपाल भ्रमणमा रहेको आईएमएफ टोलीले भ्रमणबारे प्रेस विज्ञप्ति जारी गर्दै क्षेत्रगत सुधारका लागि नेपालले थप कदम चाल्नुपर्ने जनाएको हो । यो भ्रमणको मुख्य उद्देश्य आईएमएफले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यक्रम कार्यान्वयनको अवस्थाबारे समीक्षा र समष्टिगत आर्थिक स्थितिको जानकारी लिनु रहेको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपालको अर्थतन्त्रले पुनरुत्थानको प्रारम्भिक सङ्केत देखाइरहेको छ । नयाँ तथ्याङ्कले आयातको वृद्धि सकारात्मक दिशामा प्रवेश गरिरहेको देखाएको छ । कर सङ्कलनमा सुधार भइरहेको छ र सार्वजनिक लगानी वृद्धि हुँदै गएको छ’, आईएमएफको विज्ञप्तिमा भनिएको छ । कर्जा विस्तारमा सुधार भइरहेको, मुल्यवृद्धि घटेको, विदेशी मुद्राको सञ्चिति बढेको लगायत सुधारका सङ्केत देखिएको आईएमएफको भनाइ छ ।
अर्थतन्त्र सुधारका सुरुवाती सङ्केत देखिए पनि त्यसलाई गति दिन नेपालले अझै केही महत्त्वपूर्ण काम गर्नुपर्ने सुझाव आईएमएफले दिएको छ । सार्वजनिक लगानी कार्यान्वयनलाई सुदृढ गर्न, आन्तरिक राजस्व सङ्कलनलाई अझ सशक्त बनाउन र अनुदान वितरणलाई प्रभावकारी तथा छरितो गर्न आईएमएफको सुझाव छ । आईएमएफले बचत र ऋण सहकारी संस्थामा रहेका समस्या समाधानलाई प्राथमिकतामा राख्न सुझाव दिएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।