काठमाडौं । देशका अधिकांश स्थानमा बिहिबारदेखि लगातार भारी वर्षा भइरहेको छ । बाढी र पहिरोका कारण देशका धेरैजसो सडक बन्द छन् । कतै बाढीले सडक र पुल बगाएको छ भने कतै पहिरोले गर्दा सडक अवरुद्ध रहेका छन् ।

काठमाण्डौलाई बाहिरी जिल्लासँग जोड्न लाइफ लाइनका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडकखण्ड ठाउँ–ठाउँमा बन्द छ । नागढुङ्गाभन्दा केही तलबाट नौबिसेको सुरुङमार्गसम्म ठाउँ–ठाउँमा पहिरो खस्दा सडक बन्द छ । धादिङकै कमेरेमा पृथ्वी राजमार्गमा ठूलो पहिरो खसेको छ ।

काठमाण्डौबाट कान्ति लोकपथ र दक्षिणकालीबाट कुलेखानी हुँदै हेटौँडा जाने सडक बन्द छ । बीपी राजमार्गको काभ्रे र सिन्धुलीका ठाउँ–ठाउँमा सडक बन्द रहेको छ । मुग्लिन–पोखरा सडकको ठाउँ–ठाउँमा पहिलो खस्दा कतै सडक बन्द र कतै एकतर्फी चलिरहेको छ । यस्तै सिन्धुपाल्चोकको तातोपानी नाका नजिकै भोटेकोशीका तीन वटा पुल र सडक बाढीले बगाएको छ । बन्दरगाह उच्च जोखिममा छ । आबुखैरेनी–गोरखा सडक पनि अवरुद्ध छ ।

राप्ती राजमार्गको सल्यान खण्डमा सडक बन्द रहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलबाट पोखरासम्म ठाउँ–ठाउँमा सडक बन्द छ । ओखलढुङ्गा, खोटाङ र सिन्धुलीमा मध्यपहाडी राजमार्ग बन्द छ । ओखलढुङ्गाबाट सल्लेरी जाने बाटो पनि पहिरोले बन्द भएको छ । पूर्वमा भेँडेटार–रबि–राँके सडक बन्द रहेको छ । हेवा खोलामा आएको बाढीले मेची राजमार्गअन्तर्गतको ‘बेलिब्रिज’ बगाएको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीले हेवा खोलामा आएको बाढीले ‘बेलिब्रिज’ बगाएको जानकारी दिनुभयो । पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सञ्जाल विच्छेद भएको छ ।

तम्घास–रिडी र रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्ड, तानसेन–रिडी–कोरला, बालाजु–धुन्चे–स्याप्रुबेसी, छिन्चु–जाजरकोट र मलेखु–धादिङ–सल्यानटार सडक पनि बन्द छ । यी बाहेक देशका धेरैजसो सडक कतै बन्द र कतै एकतर्फी मात्रै चलेका छन् । नेपाल प्रहरी र सडक विभागले अत्यावश्यक काम नपरी यात्रा नगर्न आग्रह गरेका छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version