काठमाडौं । लगातार वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभर अहिलेसम्म १३९ जनाको मृत्यु भएको छ यस्तै ६७ जना बेपत्ता भएका छन् भने कम्तीमा एक सय जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा सबैभन्दा धेरै ललितपुरका छन् । काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, काभ्रे मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, झापा, उदयपुर, इलाम, गोरखा, सप्तरी र नुवाकोटमा भौतिकसँगै मानविय क्षतीसमेत भएको छ ।

प्रभावित क्षेत्रमा झन्डै १० हजार सुरक्षाकर्मी परिचालन भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा हिजो भएको मौसम विभागले जनाएको छ ।
यस्तै, धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएको अवस्थामा थप १३ जनाको शव फेला परेको छ ।

पहिरोले पुरिएका बसबाट शवहरु निकालिएको छ । झ्याप्ले खोलामा अरु बस पनि पुरिएको आशंकामा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सोहि स्थानमा गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस पहिरोले पुरिएको अवस्थामा फेला परेको छ । यात्रुबाहक बस पृथ्वीराजमार्गको झ्याप्लेखोला पहिरोभित्र भेटिएको यातायात व्यवसायीहरुले बताएका छन् ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस तीन दिनदेखि सम्पर्कविहिन भएको थियो ।
झ्याप्ले खोलामै आएको पहिरोले माइक्रोबस पुरिँदा हिजो साँझ १४ जनाको मृत्यु भएको थियो । बुटवलबाट काठमाडौं आईरहेको माइक्रोबस पहिरोमा पुरिएको हो । १४ जना यात्रुको शव शनिबार साँझ निकालिएको थियो ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version