काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले विपद्पछि खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम प्राथमिकताका साथ गरिरहेको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले असोज ११ र १२ गतेको विपद्पछि सरकार तत्कालै खोज तथा उद्धारमा सक्रिय भएको बताउनुभएको हो ।

त्यसपछि राहत वितरण, घाइतेहरुको उपचार र अवरुद्ध भएका सडक सञ्जालहरु सुचारु गर्नका लागि सरकार क्रियाशिल भइरहेको उहाँले बताउनुभयो । उहाँले विभिन्न सडक मार्गमा अलपत्र परेका यात्रुहरुलाई हेलिकप्टरमार्फत उद्धार गरिएको जानकारी गराउनु भयो । बिरामीहरुलाई सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै सडक सञ्जाल मर्मतको कामपनि सबै अवरुद्ध भएका ठाउँहरुमा चलिरहेको उहाँले उल्लेख गर्नुभयो । गृहमन्त्री लेखकले ललितपुरको नख्खुमा बाढीमा परेका सर्वसाधारणहरुलाई समयमै उद्धार गर्नका लागि सरकार पुगेको भएपनि सम्भव नभएको प्रष्ट्याउनुभयो ।

नख्खु बाढीमा टिनको छानामाथि बसेर गुहार मागिरहेका नागरिकहरुलाई समयमै उद्धार गर्न नसक्दा उनीहरु बगेका थिए । सो कुराको सांसदहरुले आलोचना गरेसँगै उहाँले त्यहाँ उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी पुगेको भएपनि प्रतिकुल मौसमका कारण उद्धार सम्भव नभएको बताउनुभयो ।

गृहमन्त्री लेखकले विपद्मा परी हालसम्म २१८ जनाको मृत्यु भएको जानकारी गराउनुभयो । त्यसैगरी १४३ जना घाइते र २७ जना बेपत्ता भएको उहाँले बताउनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्वयंसेवकहरुले ४ हजार २२२ जनाको सुरक्षित उद्धार गरेको उहाँले जानकारी दिनुभयो ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version