काठमाडौं । नेपालले अमेरिकामा पर्सीबाट त्रिकोणात्मक टी–२० र र त्यसपछि एकदिवसीय सिरिज खेल्दैछ । तर, टीमका प्रमुख स्पिनर सन्दीप लामिछाने नेपालमै छन् ।

सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी क्यानाडामा खेलिसकेर स्वदेश फर्किएका थिए । अहिलेसम्म पनि उनलाई अमेरिकी दूतावासले भिसा दिएको छैन । सन्दीपले सामाजिक सञ्जालमा आफ्नो व्यग्रतालाई सांकेतिक रुपमा पोखेका छन् ।

उनले लेखेका छन्, ‘परिस्थितिहरू नियन्त्रण बाहिर ।’

नेपाली टोली क्यानाडा प्रस्थान गर्नुअघि अमेरिकाको समेत भिसा लिएका थिए । त्यसबेला दूतावासले सन्दीपको भिसा आवेदनलाई ‘होल्ड’ मा राखेको थियो । सन्दीपले अमेरिकी दूतावासबाट पासपोर्ट फिर्ता लिएर क्यानाडा उडे । त्यहाँ नेपालले विश्वकप लिग २ र टि २० सिरिज खेलेको थियो ।

क्यानाडाको खेलहरू सकिएर नेपाली टीम अमेरिका लाग्यो भने सन्दीप नेपाल फर्किए । नेपाल आउँदा दशैँको बिदा भएकाले भीसाको प्रक्रिया अघि बढ्न सकेन । हिजोबाट दूतावास खुलेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार सन्दीपले भीसा पाउने सम्भावना समाप्त भइसकेको छैन ।

Share.

Comments are closed.

Exit mobile version