धादिङ – धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने मनोरम पर्यटकीय क्षेत्र रुवीभ्याली गणेशहिमाल वेस क्याम्प गएका आन्तरिक पर्यटकहरु हाईअल्टिच्युडका कारण बेस क्याम्प नजिकै पुगेर विरामी परेर अलपत्र भएका छन् ।

आन्तरिक पर्यटकको आकर्षणको केन्द्र वन्दै गएको गणेश हिमाल बेस क्याम्प घुम्न गएका डिभिजन बन कार्यालय धादिङका प्रमुख बिष्णुप्रसाद आचार्य सहित १६ जना हाई अल्टिच्युडका कारण विरामी परेपछि त्यहीं फस्न पुगेका हुन ।

हाई अल्टिच्युटका कारण गणेश हिमाल बेस क्याम्प नजिकै बिरामी परेर फसेकाहरूलाई उद्धार गर्ने नेपाली सेनाको प्रयास बुधबार असफल भएको छ ।  विरामी भएकाहरुको उद्धारमा गएको नेपाली सेनाको हेलिकप्टर खाली फर्किएको छ ।

खराब मौसमका कारण ल्याण्ड गर्न नसकेपछि आँखुखोलाको शिर आसपासमा फसेकाहरुलाई उद्धार गर्न नसकी हेलिकप्टर फर्किएको हो। पटकपटक ल्याण्ड गर्ने प्रयास गरे पनि खराब मौसम र सञ्चार सम्पर्क गर्न नसकेपछि फर्किएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभयो ।फसिरहेकाहरुको उद्धारका लागि बिहीबार पनि प्रयास गरिने अर्यालले जानकारी दिनु भयो ।

ट्रेकिङ टोलीमा रहेका रुविभ्याली गाउँपालिकाका विपिन तामाङका अनुसार गणेश हिमाल बेसक्याम्पको केही तल (करिब डेढ घण्टाको दूरीमा) डिभिजन बन प्रमुख बिष्णु आचार्य, पत्रकार आकाश लम्साल सहित १६ जना फसेका छन्।

डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य , रेञ्जर अनुसुया ढुंगाना,पत्रकार आकाश लम्साल बिरामी परेका छन्। यात्रा टोलीमा संगै गएका ११ जना भने बुधबार साँझ रुविभ्याली गाउँपालिका–४ हिन्दुङ नजिकै आइपुगेका छन्।

पर्या–पर्यटन प्रवर्द्धनको उद्देश्यले धादिङको रुविभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको टोली छ दिनदेखि यात्रामा थिए। सोमबार राति त्यस स्थानमा पुगेका उनीहरु हाई अल्टिच्युटका कारण बिरामी परेका थिए।बेस क्याम्प नजिकै पुगेकाहरु हाईअल्टिच्युडका कारण विरामी पर्न थालेपछि विरामीलाई त्यही छाडेर ११ जना सुरक्षित फर्किएर बुधवार सुरक्षा, निकाय र सञ्चार माध्यमलाई त्यहाँको अबस्थाको बारेमा जानकारी गराएका थिए ।

पर्यटकहरु फसिरहेको स्थान नजिक मानवबस्ती नभएको र सञ्चार सम्पर्क नभएपछि  मंगलबार  बिहानदेखि छ घण्टा हिँडेर सञ्चार सम्पर्कमा आएको ट्रेकिङमा रहेका पत्रकार मिलन तिमिल्सिनाले बताए।

‘फसेको ठाउँ बेसक्याम्प पुग्न करिब डेढ घण्टा जति समयको दूरीमा छ। त्यहाँ फोन लाग्दैन। सोमबार राति त्यहाँ पुगेको हो। अहिले पनि त्यही छ। हामी टेलिफोन लाग्ने ठाउँसम्म आएर सम्पर्कमा आएका हौँ’, तिमल्सिनाले भने। ट्रेकिङ टोलीमा २७ जना रहेको र दुई जना बिरामी परेपछि बिरामीसहित १६ जनालाई त्यही छोडेर ११ जना अहिले १४ घण्टा हिँडेर तिप्लिङको हिन्दुङ नजिक आइपुगेको उनले जानकारी दिए।

टोली कात्तिक २२ गते बिहीबार  गणेश हिमाल बेस क्याम्प, गणेश कुण्ड, कालो दह, सेतो दहको यात्रा गर्ने भ्रमणमा निस्किएको हो ।
डिभिजन वन कार्यालय धादिंगको संयोजन र रुबीभ्याली गाउँ पालिकाको समन्वयमा गणेश हिमाल क्षेत्रको पर्यापर्यटनको प्रवर्धनको उद्देश्यले भ्रमणको आयोजना गरिएको थियो ।

भ्रमाण टोलीमा रहेका डा. नविन बन्धु पहाडीका अनुसार बेस क्याम्प नजिकै फसिरहेका टोलीसंग खाना र औषधी पनि सकिएको छ । तत्काल उद्धार हुन नसके थप समस्या आउने पहाडीले वताउनु भयो । पहाडी लगायत ११ जना मंगलबार त्यहाँबाट सुरक्षित स्थान तर्फ फर्किएको छ ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version