काठमाडौं। सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीबाट प्रहरीले फेरि पोखरा लगेको छ।
गत मङ्गलवार पोखराबाट रुपन्देही लगेकोमा लामिछानेको बयान सकिएपछि फेरि पोखरा नै लगेको प्रहरीले जनाएको छ। रुपन्देहीमा हिजो बेलुका ८ बजे बयान सकिएको थियो। लामिछानेसँग रुपन्देही प्रहरीले तीन दिनमा साढे २३ घन्टा बयान लिइएको छ।
पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछाने बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनामा पनि संलग्न रहेको देखिएपछि प्रहरीले अनुसन्धानका लागि बयान लिन रुपन्देही लगेको थियो ।
सुप्रिम सहकारीबाट १करोड ९६ लाख रुपैयाँ लामिछानेकै नाममा र १४ करोड २९ लाख रूपैयाँ उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न व्यक्तिमार्फत पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।इलाका प्रहरी कार्यालय बुटवलमार्फत अभियोजन गरिएको मुद्दा सरकारी वकिल कार्यालयले बयानपछि अदालतमा पेश गर्नेछ।
