धादिङ-पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै गलौदी क्षेत्रमा सडक भासिएको छ। शुक्रबार साँझ सडकको करिब सय मिटर भाग चर्किएको र २० मिटर खण्ड भासिएपछि राजमार्गमा सवारीसाधनको सञ्चालन पूर्ण रूपमा रोकिएको छ। सडकको किनारसम्मै चिरा परेका कारण थप भासिने र पहिरो जाने उच्च जोखिम बढेको छ।

धादिङका ट्राफिक प्रहरी प्रमुख शिशिर थापाका अनुसार सडक थप भासिन सक्ने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्नका लागि सवारी आवागमन बन्द गरिएको हो। सडकको अवस्था अति नै जोखिमपूर्ण रहेकाले तत्काल सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको उनले बताएका छन्।

राजमार्ग अवरुद्ध भएपछि यस रुट भएर यात्रा गर्ने सयौँ सवारीसाधन र यात्रुहरू बीच बाटोमै प्रभावित भएका छन्। सडक भासिएको क्षेत्रमा थप क्षति हुन सक्ने जोखिम रहेकाले स्थिति सामान्य नहुँदासम्म आवागमन कठिन हुने देखिएको छ।

Share.

Comments are closed.

Exit mobile version