काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । आज माओवादीको काभ्रे–काठमाडौं सम्पर्क समितिको भेलामा उहाँले आफूहरू प्रमुख विपक्षी दल रहेको र यो सरकार तलमाथि भएमा आफूहरूकै सरकार बन्ने दाबी गर्नुभयो ।

‘यही हलमा हो मैले ३२ को संख्यालाई जादुको संख्या भयो भनेको थिएँ, मेरो भनाइले उनीहरूले उद्धेलित र तरंगित भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला’, प्रचण्डले भन्नुभयो, ‘अहिले पनि हाम्रो संख्या म्याजिक नै छ । किनभने हामी ३२ भएको हुनाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी त्यो भनेको गभरमेन्ट इन वेटिङ हो, पर्खिराखेको सरकार भन्छ । यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो त्यसैले चिन्तित हुने कुरा छैन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले माओवादी विभाजनबाट बनेका धेरै पार्टीहरू फेरि एकताबद्ध हुने बताउनुभयो । कतिपयसँग वार्ता भइरहेको र एकता गर्न हतार गरिरहेको तर कतिपयसँग कुराकानी चलिरहेको उहाँले बताउनुभयो । तीबाहेक नागरिक समाजका थुप्रै व्यक्ति, कांग्रेस र एमालेमा आस्था राख्ने बुद्धिजीवीहरूले पनि एक पटक प्रचण्डले आन्दोलनको अगुवाइ गरिदिनुपर्‍यो भनेर आफूलाई आग्रह गरेको उहाँले बताउनुभयो । प्रचण्डले अब आफूहरूसँग आन्दोलनको विकल्प नभएको बताउनुभयो ।

Share.

Comments are closed.

Exit mobile version