काठमाण्डौ ५ पुस । नेपालमा पनि ‘मंकीपक्स’ का बिरामी फेला परेका छन् । यो संगै देशमा पुनः मङ्कीपक्स सङ्क्रमण देखिएको छ।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गर्न पुगेका युवकमा मंकीपक्सको जस्तै लक्षण देखिएको हो ।स्वास्थ्य तथा जनसङख्याका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो।
‘साउदी अरबबाट बिहीबार स्वदेश आएका निजको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो’, उनले भने, ‘अहिले उनको अवस्था सामान्य छ ।’
उनको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ । दुई वर्षअगाडि पनि नेपाल आएका एक जना विदेशीमा मङ्कीपक्स सङ्क्रमणको देखिएको थियो।
मङ्कीपक्स सङ्क्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताए।
कसरी सर्छ
मंकीपक्स संक्रमित भएको व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरमा निस्किएको तरल पदार्थ थुक, र्यालको सम्पर्कबाट, संक्रमित बाँदर, मुसा लोखर्केलगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ।
यस्तो हुन्छ लक्षण
मंकीपक्स संक्रमण भएमा ज्वरो आउने, सामान्यतया ज्वरो आएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतलामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने गर्दछन्। आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु हुन सक्दछ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।