काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई बधाईसहित सम्मान गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने टोलीका खेलाडी, नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारी र व्यवस्थापकलाई बधाई दिनुभएको हो । हिजो कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो ।
प्रधानमन्त्री ओलीले आउँदा दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याटर नेपाली पनि हुनसक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न सकून् भन्ने कामना पनि गर्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘यो सम्पूर्ण नेपालीको जीत हो, नेपाली क्रिकेटको जीत हो, प्रतियोगितामार्फत तपाईंहरूको असाधारण क्षमता देखिएको छ । उपविजेता सुदूरपश्चिम रोयल्सले पनि राम्रो प्रदर्शन गर्याे, कठोर चुनौतीको सामना गर्दै जीत हासिल गर्ने जनकपुर बोल्ट्सका खेलाडीहरु बधाईका पात्र हुनुहुन्छ ।’
आफू प्रधानमन्त्री भएपछि कीर्तिपुरमा क्रिकेट मैदानको स्तरोन्नतिसम्बन्धी पहिलो निर्णय गरेको उल्लेख गर्र्दै उहाँले यसका लागि बोलपत्र आह्वान भइसकेको बताउनुभयो । उहाँले नेपालको खेल क्षेत्रको विकासका लागि आफ्नो र सरकारको प्रयास निरन्तर हुने बताउनुभयो ।
त्यस अवसरमा नेपाल क्रिकेट सङ्घ र खेल व्यवस्थापकहरूले नेपालमा विदेशी खेलाडी ल्याउन र खेल क्षेत्रमा विदेशी लगानी वा सहयोग ल्याउने प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै विदेशका राम्रा खेलाडीको श्रम स्वीकृतिसम्बन्धी झन्झटिलो प्रक्रिया अन्त्य गराउन आग्रह गर्नुभयो ।
जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले प्रधानमन्त्री ओलीसँग भेटेर बधाई र सम्मान पाउँदा आफूहरूलाई खुशी भएको प्रतिक्रिया दिनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।