काठमाडौँ , माघ २२ । चितवनको साहारा बहुउद्देश्य सहकारीको रकम अपचलन आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १५ विरुद्द मुद्दा दायर भएको छ । चितवन जिल्ला अदालतमा मंगलबार पूरक मुद्दा दर्ता भएको हो ।
साहाराको रकम अपचलन र संगठित अपराध कसुरमा कारबाही गर्न माग गर्दै पूर्वगृहमन्त्री समेत रहेका लामिछाने र तत्कालीन गोर्खा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष समेत रहेका पूर्व डीआईजी छविलाल बन्जाडे जोशीसहित १५ जना पुरक सहित मुद्दा दर्ता भएको जिल्ला अदालत चितवनका सूचना अधिकृत अमृत विश्वकर्माले जानकारी दिए। रवि लामिछाने, रामबहादुर खनाल, रबिना रिमाल, बिशाल तामाङ, नविन अछामी, कबिता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवति बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको हो ।
अहिले पुरक अभियोगमा थप १५ सहित जम्मा ३२ जना प्रतिवादी उपर ठगी र सङ्गठित अपराधको मुद्दा दर्ता भएको छ। मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १,२ तथा सङ्गठित अपराध निवारण ऐन २०७० को दफा ३ (१)(२) (३) र ५ बिपरितको कसुर कायम गरि अभियोग दर्ता भएको चितवन जिल्ला अदालतको सुचना अधिकारी शाखा अधिकृत अमृत बिश्वकर्माले बताए । उनका अनुसार सोहि ऐन बमोजिम र सङ्गठित अपराधमा दफा (क ) र (ग) बमोजिम मागदाबी लिएको छ ।
यसअघि असोज ८ गते बचत कर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले सहारा सहकारी १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो । अदालतमा पेस गरिएको १ सय ९ पृष्ठको पूरक अभियोगपत्रमा लामिछाने र जोशी लगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारबाही र बिगो माग गरिएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।