सुर्खेत । तारा एअरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सानी बेहोर्नुपर्ने भएपछि उडान बन्द गरेको तारा एअरले जनाएको छ ।

कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले गएको मङ्सिर १९ मा उद्घाटन गर्नुभएको हवाई सेवा अहिले बन्द भएको हो । हिमाली टुर एण्ड ट्राभल्सले तारा एअरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो ।

ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको तथा हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपरेको जनाएको छ ।

ट्राभल्सका मिनबहादुर रावलले मुगु, हुम्ला र जुम्लामा हप्तामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम शुरू गरे पनि आवश्यक सहयोग प्राप्त नभएका कारण उडान सेवा बन्द गरिएको बताउनुभयो ।

यसैबीच सुर्खेतमा हवाई सेवा बन्द भएपछि कर्णालीका हिमाली जिल्लामा आवतजावत गर्न बाँकेको नेपालगञ्ज विमानस्थलकै भर पर्नुपर्ने बाध्यता भएको छ । बाँकेबाट तारा, समिट र गोमा एअरले हुम्ला, जुम्ला, मुगु र डोल्पामा उडान भर्दै आएका छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version