एजेन्सी । सुडानमा हैजाको प्रकोप फैलिँदा २ हप्तामै ९२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ५ वर्षमुनिका ५ सहित १८ जना बालबालिका रहेका सुडानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सामाचार संस्था एपीले जनाएको छ ।
सुडानको ह्वाइट नाइल राज्यमा फेब्रुअरी २० पछि हैजा फैलिएको हो । त्यसपछि कोस्ती शिक्षण अस्पतालमा रहेको हैजा उपचार केन्द्रमा २ हजार ७ सय १८ जना बिरामी भर्ना भएका थिए ।
फेब्रुअरी १६ मा विद्रोही समूह ‘पारामिलिटरी र्यापिड सपोर्ट फोर्सेस’ (आरएसएफ) ले एउटा पावर स्टेशनमा आक्रमण गरेपछि बिजुली आपूर्ति बन्द भएको थियो । बिजुली आपूर्ति बन्द भएसँगै सरकारी संयन्त्रले वितरण गर्ने पानीको आपूर्ति बन्द भएको र मानिसहरूले अरू स्रोतको पानी प्रयोग गर्दा पानीजन्य रोग हैजा फैलिएको मन्त्रालयले जनाएको छ ।
सुडानी स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सन् २०२४ को जुलाईदेखि गएको मङ्गलवारसम्ममा ५७ हजार १ सय ३५ जनामा हैजा पुष्टि भएको छ । उनीहरूमध्ये १ हजार ५ सय ६ जनाको ज्यान गइसकेको छ ।
सुडानमा सन् २०२३ को अप्रिलदेखि सशस्त्र सेना र आरएसएफबीच युद्ध चलिरहेको छ । युद्धका कारण कम्तीमा २९ हजार ६ सय ८३ जनाको ज्यान गएकाे छ । युद्धका क्रममा प्रत्यक्ष ज्यान गुमाउनेसँगै हैजालगायतका रोगको सङ्क्रमण र कुपोषण तथा भोकमरीको समस्यासमेत बढिरहेको एपीको खबरमा उल्लेख छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।