काठमाडौं । ‘हनी ट्र्याप’मा पारेर ठगी गर्न खोज्ने दुई महिला काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलाली स्थायी घर भई काठमाडौं बसोबास गर्दै आएकी ३४ वर्षीया ममता तामाङ र भक्तपुर स्थायी घर भएकी ३४ वर्षीया आँचल श्रेष्ठ रहेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ती महिलाहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत ५७ वर्षीय सरकारी कर्मचारीसँग चिनजान बढाएका थिए। फेसबुकमा जोडिएपछि रेस्टुरेन्टमा कफी खान बोलाई सम्बन्ध बढाएको प्रहरीको भनाइ छ। त्यसै क्रममा एक दिन खाना खाने बहानामा ती कर्मचारीलाई रेस्टुरेन्टमा बोलाएर, मदिरा सेवन गराई अचेत हुने अवस्थामा पुर्‍याएर अश्लील फोटो भिडियो बनाएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए।

ती अश्लील सामाग्री देखाएर महिलाहरूले कर्मचारीलाई ब्ल्याकमेल गरेर घर वा जग्गा दिन दबाब दिँदै नदिए बलात्कारको मुद्दा लगाउने धम्की दिएका थिए। साथै, दुई पुरुषको माध्यमबाट नगद रकमसमेत माग्दै बार्गेनिङ गरेका थिए। सुरुमा कुरा गरेर आँचलले उनलाई भेट्न बोलाएकी थिइन्। ठमेलमा रक्सी खाने कर्मचारीको फोटो ममताले खिचेकी थिइन्।

प्रहरीले उनीहरूको साथबाट दुई वटा मोबाइल फोन र ५ लाख रुपैयाँ बराबरको चेक समेत बरामद गरेको जनाएको छ। उनीहरूविरुद्ध अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

Share.

Comments are closed.

Exit mobile version