काठमाडौँ । मेटा प्रमुख मार्क जुकरबर्गले हालै भविष्य एआईद्वारा संचालित स्मार्ट चश्मा हो भनेका थिए । मोबाइल वा ल्यापटपमा एआईमा आधारित ग्याजेट राखेर उनले आगामी दिनहरूमा एआई चल्ने दाबि नै गरे । अब एप्पलका सीईओ टिम कुकले पनि यसबारे टिप्पणी गरेका छन् । उनलाई पनि यो प्रश्न सोधिएको थियो, के एआईले आगामी समयमा आईफोनलाई प्रतिस्थापन गर्न सक्छ ? टिम कुकले यसको मिश्रित जवाफ दिए । कुकले न त यसलाई पूर्ण रूपमा स्वीकार गरे न त पूर्ण रूपमा अस्वीकार नै गरे ।
एप्पलले आर्थिक वर्ष २०२५ को तेस्रो त्रैमासिकमा राम्रो प्रदर्शन गरेको छ । कम्पनीले तेस्रो त्रैमासिकमा ९४ बिलियन डलरको ग्रस आम्दानी गरेको छ । यस अवसरमा एक अन्तरक्रियामा सहभागी कुकले आईफोनलाई एआईले प्रतिस्थापन गर्ने प्रश्नको बारेमा विवरण दिए । टिम कुकले भने- निकट भविष्यमा, एआईले आईफोनलाई पूर्ण रूपमा प्रतिस्थापन गर्ने देखिन्छ जस्तो लाग्दैन । हामी आज यस्तै महसुस गर्छौं, तर म यो भन्दिन कि एआईले कहिल्यै आईफोनलाई प्रतिस्थापन गर्न सक्षम हुनेछैन ।’
कुकले एप्पलले एआईमा ठूलो लगानी गरिरहेको बताउदै प्रयोगकर्ताको अनुभवलाई अझ राम्रो बनाउन एआईमा ठुलो लगानी गरेको बताए । एप्पलका केही सुविधाहरू जस्तै सिरी, अन डिभाइस इन्टेलिजेन्स र एआई-संचालित फोटोग्राफीको उदाहरण दिँदै कुकले एप्पल प्रयोगकर्ताहरूको गोपनीयतामा सम्झौता नगरी एआईसँग अगाडि बढिरहेको बताए । एप्पलको उद्देश्य एआईलाई प्रयोगकर्ताहरूलाई व्यक्तिगत र सुरक्षित अनुभव दिनु रहेको उनले बताए ।
आईफोनको महत्त्वलाई जोड दिँदै कुकले आईफोन केवल मोबाइल मात्र होइन, यो क्यामेरा, कम्प्युटर, वालेट, स्वास्थ्य मनिटर र धेरै कुराहरू भएको बताए । उनले भने- ‘यो उपकरण तपाईंसँग २४ घण्टा रहन्छ । आईफोन एआईसँगै समाप्त हुनेछैन, तर अझ शक्तिशाली बन्नेछ । आईफोन एआई उपकरणहरू प्रयोग गर्ने अनुभव केन्द्र बन्नेछ । एआई आईफोनको लागि राम्रो साथी साबित हुनेछ ।
एप्पलले २००७ मा आईफोन लन्च भएदेखि लगभग ३ अर्ब आईफोन बेचेको छ। सो अवसरमा कुकले भारत, मध्य पूर्व, दक्षिण एसिया र ब्राजिल जस्ता उदीयमान बजारहरूमा दोहोरो अंकको वृद्धि देखिएको पनि बताए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।