हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका बानियाँले आज विश्वासको मत लिन लागेका हुन् । आफ्नै पार्टीबाट अविश्वासको मतको सामना गर्दै मुख्यमन्त्री बहादुर सिंह लामा बाहिरिएपछि मुख्यमन्त्री बनेका बानियाँलाई विश्वासको मत लिन चुनौती बनेको छ ।

पार्टीभित्रका आन्तरिक शक्तिसंघर्षमा लामालाई हटाईएपछि बाँकी अवधिका लागि बानियाँ मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँ र पूर्व मुख्यमन्त्री बहादुर सिंह लामाबीच विवाद देखिरहेका बेला पार्टी सभापति शेरबहादुर देउवाले मिलेर जान दुवै पक्षलाई निर्देशन दिएका छन् । पूर्व मख्यमन्त्री लामाले आफ्नो कोटाबाट गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री बनाउनुपर्ने सर्त राखेका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै तीन जनालाई मन्त्री नियुक्त गराउनुपर्ने लामा पक्षको अडान छ । नियुक्त नगरे संयुक्त राजीनामासँगै विश्वासको मतसमेत नदिने लामाले चेतावनी दिएका छन् । ११० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ ।

कांग्रेसका ३७ र एमालेका २४ सांसद छन् । कांग्रेसका १४ सांसदले जोखिम मोलेर विश्वासको मत नदिने निर्णय पुगे भने सरकारको पक्षमा ४७ मत मात्रै हुन्छ । यसले मुख्यमन्त्री बानियाँको पद नै धरापमा पर्नेछ । यद्यपि बानियाँ भने संसदीय दलको ह्वीप लागिसकेको अवस्थामा दायाँबायाँ नहुनेमा ढुक्क छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version