काठमाडौं । यम शेर्पाको निर्देशनमा तयार भइरहेको फिल्म ‘मिरमिरे’को छायांकन सकिएको छ । ३५ दिनमा चलचित्रको छायांकन सकिएको हो ।
काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा चलचित्रको छायांकन भएको हो । अब एउटा गीतको छायांकन गर्न बाँकी छ । ‘अब एउटा गीतको छायांकन गर्न बाँकी छ । समय अनुकुल पारेर बाँकी एउटा गीत खिच्नेछौँ’ निर्देशक शेर्पाले भने ।
फिल्म ‘मिरमिरे’ माघ १ गतेलाई रिलिज हुँदै छ । नायिका सिर्जना निङलेखुको जन्म दिनको अवसर पारेर केही दिनअगाडि निर्माणपक्षले रिलिज डेट घोषणा गरेको थियो ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्मको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन् । चलचित्रको बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
फिल्म ‘मिरमिरे’ को निर्देशन सँगै स्टोरी पनि यम स्वयंले लेखेका छन् । फिल्मका छायाकार आलोक शुक्ला हुन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।
यस फिल्ममा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । फिल्म ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्स्ले लिएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।