हेटौँडा, । बागमती प्रदेशको राजधानी हेटौँडामा स्थानीय सरकारले औद्योगिक र सामाजिक रुपान्तरणका महत्वाकांक्षी योजना अघि सारेको छ ।
उपमहानगर प्रमुख मिना कुमारी लामाले ऐतिहासिक हेटौँडा कपडा उद्योग पुनः सञ्चालन, काठमाडौं–हेटौँडा रोपवे पुनर्जीवन, पाँच वर्षे शिक्षा रणनीति र तेस्रो सन्तान प्रोत्साहन नीति प्राथमिकतामा रहेको बताएकी छन् ।
तीन वर्षअघि निर्वाचित भएकी लामाले आधा कार्यकाल सक्दा संघीय कानुनी अवरोध, बढ्दो बसाइँसराइ र स्रोतको सीमितता मुख्य चुनौती रहेको स्वीकार गरिन् । तर उनले हेटौँडालाई राजधानी मात्र नभई आत्मनिर्भर औद्योगिक शहर बनाउने प्रतिबद्धता दोहोर्याइन् ।
कपडा उद्योग र रोपवे पुनर्जीवन
बन्द भएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि संघीय उद्योग मन्त्रालयसँग छलफल भइरहेको जानकारी उनले दिइन् । हजारौँ रोजगारी सृजना गर्न सक्ने यो उद्योग सञ्चालनका लागि कानुनी व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ ।
त्यस्तै, नेपालको पहिलो रोपवेका रूपमा चिनिने काठमाडौं–हेटौँडा रोपवेलाई आधुनिक प्रविधि प्रयोग गरी पुनः सञ्चालन गर्ने सम्भावनाबारे पनि अध्ययन भइरहेको उनले बताइन् ।
शिक्षा रणनीति
उपमहानगरले पाँच वर्षे शिक्षा रणनीति लागू गर्दै ‘मेगा विद्यालय अवधारणा’ ल्याएको छ । गुणस्तरीय शिक्षक, यातायात सुविधा र प्रविधिमैत्री शिक्षा यस योजनाका मुख्य आधार भएको लामाले उल्लेख गरिन् ।
बढ्दो दबाब र उपलब्धि
हेटौँडा चार वटा राष्ट्रिय राजमार्गसँग जोडिएको सहर भएकाले बसाइँसराइ बढ्दो छ । यसले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र आवासमा दबाब बढाएको बताउँदै उनले संघीय र प्रदेश सरकारसँग साझेदारीमा काम अगाडि बढाइरहेको जनाइन् ।
उनका अनुसार, तीन वर्षको अवधिमा स्थानीय राजस्वबाट कृषि प्रवर्द्धन, किसानलाई मलदेखि पुँजीसम्म सहयोग, ड्र्यागन फल, मेवा, केरा जस्ता उत्पादनको निर्यात वृद्धि, तथा आठ हजार घरपरिवारलाई निःशुल्क खानेपानी वितरणजस्ता उपलब्धि हासिल भएका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।