काठमाडौं । क्युलेक्स जातका लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेई) का कारण देशभर २७ जनाको मृत्यु भएको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार गत पुष महिनादेखि हालसम्म ४० जिल्लामा १४१ जनामा जेई पुष्टि भइसकेको छ। तीमध्ये २७ जनाले ज्यान गुमाएका छन्।

प्रदेशगत विवरणअनुसार लुम्बिनीमा ९ जना, गण्डकीमा ५ जना, बागमतीमा ४ जना, कोसीमा ४ जना, मधेशमा ३ जना, कर्णालीमा १ जना र सुदूरपश्चिममा १ जनाको मृत्यु भएको हो।

जेई संक्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे मार्फत मानिसमा सर्छ। चिकित्सकका अनुसार यस रोगका लक्षणमा उच्च ज्वरो, मुर्छा, घाँटी कडिनु, बोल्न नसक्ने अवस्था, मांसपेशी कमजोर हुने, अनियन्त्रित शरीरको गतिविधि र पक्षाघात सम्म देखिन सक्छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का तथ्याङ्कअनुसार जापानिज इन्सेफलाइटिसबाट संक्रमित हुने २५० मध्ये एक जनामा गम्भीर लक्षण देखापर्छ र त्यस्ता ३ बिरामीमध्ये एक जनाको मृत्यु हुने जोखिम रहन्छ।

Share.

Comments are closed.

Exit mobile version