काठमाडौं । नेकपा एमालेले असोज २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । गुण्डुमा बसेको सचिवालय बैठकले विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक आह्वान गर्ने निर्णय गरेको हो ।

उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले असोज १९ र २० गते सचिवालय बैठकमार्फत एजेन्डा तय हुने जानकारी दिए । उनले बैठकमा चाँडै राष्ट्रिय महाधिवेशन गर्नेबारे पनि निर्णय हुन सक्ने संकेत गरे ।

ज्ञवालीले जेएनजी आन्दोलनका क्रममा निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरे । साथै आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको उनले बताए ।

भदौ २३ र २४ का घटनाबारे जाँचबुझ आयोगले अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का गरेको समाचारप्रति एमालेले गम्भीर ध्यानाकर्षण जनाएको छ । ज्ञवालीले गृह मन्त्रालयको मिडिया ट्रायलमार्फत आयोगको विश्वसनीयतामाथि प्रश्न उठाएको आरोप लगाए ।

सरकारले राजनीतिक दललाई पन्छाउने र प्रहरीको कानुनी अधिकारमा हस्तक्षेप गर्ने प्रयास गरेको भन्दै ज्ञवालीले चिन्ता व्यक्त गरे । उनले कतिपय नेताहरूमाथि आक्रमणको धम्की बढेको बताउँदै यस्तो परिस्थितिमा चुनावको वैधता नै प्रश्नमा पर्ने चेतावनी दिए ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version