काठमाडौँ । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दिउँसो ठूलो आगलागी भएको छ।
स्थानीय समय अनुसार दिउँसो करिब ३ बजेतिर विमानस्थलको कार्गो टर्मिनलमा अचानक आगो लागेको थियो। आगोको तीव्रताका कारण कालो धुवाँले विमानस्थल वरिपरि सम्पूर्ण क्षेत्रलाई ढाकेको थियो, जसका कारण सवै उडानहरू तुरुन्तै स्थगित गरिएका छन्।
बंगलादेश नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार, फायर फाइटरका ३५ युनिटले लामो समयको प्रयासपछि आगो नियन्त्रणमा ल्याएको बताइएको छ। प्राधिकरणले सबै विमानहरू सुरक्षित रहेको र स्थिति पूर्ण रूपमा सामान्य नहुँदासम्म अवतरण तथा उडानहरू रोकिएको जानकारी दिएको छ।
स्थानीय सञ्चार माध्यम डेली स्टारका अनुसार आगलागीको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ। अहिलेसम्म कुनै मानव क्षतिको विवरण प्राप्त नभएको बताइएको छ।
हालैका दिनमा बंगलादेशमा आगलागीका घटनाहरू बढेका छन्। गत मंगलबार मात्र ढाकामै रहेको चार तले कपडा कारखाना र रासायनिक गोदाममा लागेको आगोमा १६ जनाको मृत्यु भएको थियो भने धेरै जना घाइते भएका थिए।
यो विमानस्थलमा भएको आगलागी पछिल्लो तीन महिनाको अवधिमा तेस्रो ठूलो आगलागी घटना भएको बताइएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।


