काठमाडौँ, १३ कार्तिक । अरब सागर र बंगालको खाडीबीच सक्रिय बनेको चक्रवात ‘मोन्था ’ले पछिल्लो २४ घण्टामा भारतका तटीय प्रदेशहरू -आन्ध्र प्रदेश, ओडिसा, पश्चिम बंगाल र आसपासका क्षेत्रमा ७० देखि २०० मिलिमिटरसम्म वर्षा गराएको छ। भारतीय मौसम विभागका अनुसार चक्रवात हाल उत्तर–पूर्व दिशातर्फ सर्दैछ।

नक्सामा देखिएझैं, चक्रवातको मुख्य बाटो आन्ध्र प्रदेशदेखि उडिसा हुँदै बिहार, पश्चिम बंगाल र त्यसपछि आसाम–मेघालय क्षेत्र हुँदै बंगलादेश तर्फ जाने अनुमान गरिएको छ।

नेपालमा भने चक्रवात ‘मोन्था’को बाहिरी घेराको प्रभाव देखिन थालेको मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार कार्तिक १३ गते (बिहीबार) दिउँसोदेखि बुटवल–चितवन–काठमाडौंबाट पूर्वका भू–भागमा क्रमशः यसको असर फैलिनेछ।

मुख्य प्रभाव कार्तिक १४ र १५ गते (शुक्रबार र शनिबार) देखिने सम्भावना रहेको छ।

बागमती, मधेस र कोशी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा र केही स्थानमा हावाहुरीको सम्भावना रहेको जनाइएको छ। त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशमा बादल लाग्ने भए पनि ठूलो वर्षा हुने सम्भावना न्यून देखिएको छ।

विभागले कृषक, यात्री र तटीय भू–भागमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

पानीको मात्रा बढ्न सक्ने भएकाले नदी किनार र भिरालो क्षेत्रमा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।

Share.

Comments are closed.

Exit mobile version