दोलखा । गौरीशंकर गाउँपालिका–९ स्थित गौरीशंकर र रोल्वालिङ हिमशृंखला अन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शकहरू हिमपहिरोमा परेका छन् । सोमबार यलुङरी हिमालको आधारशिविर नजिकै परेको हिमपहिरोमा सात जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमध्ये दुई जना नेपाली र पाँच जना विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ । विदेशी मृतकहरूमध्ये अमेरिकी नागरिक तीन जना, क्यानडाका एक र इटालीका एक जना रहेका छन् ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोका अनुसार ना गाउँबाट ६,३३४ मिटर अग्लो डोल्मा थाङतर्फ गएका उनीहरू सोमबार बिहान साढे १० बजे हिमपहिरोमा परेका थिए । हिमपहिरोमा परेलगत्तै घाइतेहरूले ना गाउँमा रहेका साथीहरूलाई उद्धारका लागि खबर गरे पनि समयमै उद्धार हुन सकेन ।

उद्धारका प्रयासमा कठिनाइ आएको प्रहरीले जनाएको छ । डीएसपी महतोका अनुसार हिमपहिरो परेको सूचना ढिलो आइपुगेको र प्रतिकूल मौसमका कारण हेलिकोप्टर उडान हुन नसकेको बताए । मंगलबार मात्रै उद्धार कार्यको थालनी हुने जनाइएको छ ।

घटनास्थल लामाबगरबाट करिब आठ घण्टाको पैदल दूरीमा पर्छ । सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार टोली परिचालन गरेका छन् । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार तीनवटै सुरक्षा निकायका करिब ५० जना सदस्य घटनास्थलतर्फ गएका छन् ।

केही दिनदेखि रोल्वालिङ क्षेत्रमा लगातार हिमपात हुँदै आएको थियो । आइतबारबाट मौसममा सुधार आएपछि आरोहण टोली यलुङरीतर्फ लागेका थिए । तर सोमबार पुनः प्रतिकूल मौसमले दुर्घटनाको कारण बनेको जनाइएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version