गोरखा -गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि बेपत्ता रहेका दुई इटालियन नागरिक मृत अवस्थामा फेला परेका छन्।
मंगलबार पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटो को शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा भेटिएको प्रहरीका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठ ले जानकारी दिए।
श्रेष्ठका अनुसार मृतक आरोहीहरूको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ।
७००५ मिटर अग्लो पाङबारी हिमालबाट फर्कने क्रममा तीन इटालियन र एक नेपाली सहयोगी गत बुधबारदेखि हराइ रहेका थिए। तीमध्ये ६५ वर्षीय भेल्टर पेरलिनो आधार शिविरमा फसेका थिए भने फरिनातो र गापुटो पहिलो शिविरमा अड्किएका थिए।
हिमपात र खराब मौसमका कारण उनीहरू तल झर्न नसकी अलपत्र परेका थिए।
पेरलिनोको भने आइतबार बिहान हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो। उनका साथमा रहेका नेपाली आरोही पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङ लाई पनि उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।


