काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।
कार्तिक २७ गतेदेखि लागू हुनेगरी कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनु भयो ।
सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ । भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा निजामतितर्फ चार जना र नेपाल प्रहरीतर्फ ११ जना थप गरी १५ जना कर्मचारी उपलब्ध गराउने निर्णय गरेको छ ।
कार्तिक २६ देखि २८ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत कोर्डिनेशन बैठकको नवौँ बैठकमा सहभागी हुन नेपालको तर्फबाट सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालको संयोजकत्वको प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृति दिएको छ । त्यस्तै सरकारले भू-उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । २०८२ फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
प्रवक्ता खरेलकाअनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरी सुरेन्द्रलाल कर्णलाई नियुक्त गरेको छ ।
यस्ता छन् निर्णय :
–नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने ।
–राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने ।
–भदौ २३ र २४ को घटनाको जाँचबुझ आयोगमा निजामतीतर्फ ४ र नेपाल प्रहरीतर्फ ११ जना थप कर्मचारी उपलब्ध गराउने ।
–२०८२ कात्तिक २६ देखि २८ सम्म भारतको नयाँ दिल्लीमा नेपाल भारत कोअर्डिनेशन बैठकको नवौं बैठकमा सहभागी हुने नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालको संयोजकत्वको प्रतिनिधिमण्डलको टोलीलाई स्वीकृति ।
–भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने ।
–२०८२ फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति दिने निर्णय भएको छ ।
–मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्न र सुरेन्द्र लाभ कर्णलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।


