काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी र भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’बीच कात्तिक २६ गते पार्टी एकता घोषणा हुने भएको छ। प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो साढे १ बजे एकता घोषणा कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र भीम रावलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टीसहित १० दलबीच कार्तिक १९ गते एकता घोषणा भएको थियो। सोही दिन भीम रावललाई पनि समावेश गर्ने तयारी भए पनि अन्तिम क्षणमा प्रक्रिया रोकिएको थियो।
आइतबार प्रचण्ड र माधव नेपालबीच टोखामा भएको भेटवार्ताले रावललाई पार्टीमा समावेश गर्ने सहमति टुङ्ग्याएको स्रोतले जनाएको छ। सहमतिअनुसार अब रावल नेपाली कम्युनिस्ट पार्टीमा छैठौं वरियताका नेता हुनेछन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाएको भन्दै एक वर्षअघि रावललाई एमालेबाट निष्कासन गरिएको थियो। चार वर्षअघि सौराहामा भएको एमालेको दशौं महाधिवेशनमा ओलीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका उनी पराजित भएका थिए। त्यसपछि उनले मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका छन्।
जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण रावल छुट्टै दल निर्माण गर्ने तयारीबाट हटेर नेकपामा समाहित हुन सहमत भएको बताइएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।


