काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको खेल तालिका सार्वजनिक गरेको छ। आगामी मङ्सिर १ गतेदेखि सुरु हुने प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्।
साबेक च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच मङ्सिर १ गते दिउँसो ४ बजे उद्घाटन खेल हुनेछ। यस संस्करणमा आठ टोली सहभागी रहेका छन्। दिनमा दुई खेल हुने व्यवस्था गरिएको छ। पहिलो खेल दिनको ११:४५ बजे र दोस्रो खेल क्रमशः ३:३० र ४ बजे सुरु हुने क्यानले जनाएको छ।
प्लेअफका तीनै खेल दिउँसो ४ बजे फ्लडलाइटमा हुनेछन्। त्यस्तै, मङ्सिर २७ गतेको फाइनल खेल पनि रातिको प्रकाशमा आयोजना गर्ने तयारी गरिएको क्यानले जानकारी दिएको छ। कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाइनेछन्।


