काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशन नजिकिँदै जाँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने संकेत दिएका छन्। शुक्रबार जारी वक्तव्यमार्फत पोखरेलले अध्यक्ष ओलीलाई प्रत्यक्ष रूपमा काउन्टर दिंदै पाँचवटा महत्वपूर्ण राजनीतिक सन्देश सार्वजनिक गरेका हुन्।

१) ‘भदौ २३ आन्दोलन’ र ‘२४ को विध्वंस’ अलग–अलग विषय

पोखरेलले भदौ २३ को जेनेरेसन Z आन्दोलन र भदौ २४ को विध्वंसलाई एउटै रूपमा नलिन चेतावनी दिएका छन्।
उनका अनुसार नवयुवा पुस्ताको आकांक्षा, आशा र आक्रोशलाई बेवास्ता गर्दा पार्टीले ठूलो मूल्य चुकाउनुपर्नेछ।
भदौ २४ को विध्वंस कुनै कारणले पनि उम्किन नदिने उनको भनाइ छ।

२) ‘पुराना निष्कर्षले अब मार्गदर्शन गर्न सक्दैन, छलफल आवश्यक’

ओलीले महाधिवेशनमा बहस नहुने भनेका बेला पोखरेलले भने राजनीतिक, सांगठनिक र विधानसम्बन्धी विषयमा अनिवार्य छलफल र अद्यावधिक आवश्यक रहेको बताए।
भदौ २४ पछिको परिस्थिति पूर्ण रूपमा बदलिएको भन्दै पुराना निष्कर्ष पर्याप्त नभएको उनले उल्लेख गरेका छन् ।

३) ‘म अध्यक्षमा प्रतिस्पर्धाका लागि तयार छु’

पोखरेलले प्रत्यक्ष रूपमा आफू पार्टीको नेतृत्व सम्हाल्न तयार रहेको घोषणा गरे।
उनले राष्ट्रियता, लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षामा अविचलित रहने प्रतिवद्धता दोहो¥याए।

४) ‘अहंकार त्यागौं, मनोविज्ञान भड्काएर समाधान हुँदैन’

ओलीले एकपछि अर्को कडा अभिव्यक्ति दिइरहेका बेला पोखरेलले भने अहंकार, पूर्वाग्रह र आरोप–प्रत्यारोपको मनोविज्ञान त्याग्न आग्रह गरेका छन् ।
उनका अनुसार राष्ट्रियता र लोकतन्त्रको रक्षा भावनात्मक विभाजनले होइन, आपसी विश्वासले सम्भव छ।

५) ‘प्रतिनिधि छनोटमा उत्साहका साथ सहभागी बन्ने अपिल’

मंसिर १३ गते हुने महाधिवेशन प्रतिनिधि चयनमा सबै पार्टी सदस्यलाई उत्साह र निर्भयताका साथ सहभागी हुन उनले आग्रह गरेका छन् ।
देशभर कार्तिक २९ र काठमाडौमा मंसिर ६ मा हुने जागरण प्रदर्शनमा सहभागी हुन पनि उनले आह्वान गरेका छन् ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version