काठमाडौँ । पछिल्ला २–३ दिनयताको समुद्री आँधी ‘दित्वाह’ ले श्रीलंकामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। तीव्र गतिमा अघि बढिएको उक्त आँधी अहिले भारतका तमिलनाडु र उडिसा तटीय क्षेत्रमा भारी वर्षा गराउँदै उत्तरतर्फ सर्दै छ।
आँधीको अप्रत्यक्ष प्रभाव नेपालमा पनि देखिन थालेको मौसमविद्हरूले बताए। विशेषगरी पूर्वी भूभागमा बाक्लो बादल लागेकाले घाम मधुरो बनेको छ। यो अवस्था कम्तिमा दुई दिनसम्म यथावत् रहने पूर्वानुमान गरिएको छ। नेपालमा भने वर्षाको ठूलो सम्भावना छैन।
छिमेकी मुलुकहरूमा पछिल्ला दिनमा परेको निरन्तर वर्षाले जनजीवन गम्भीर प्रभावित भएको छ। गत एक हप्तामा थाइल्यान्ड, इन्डोनेसिया, भियतनामदेखि श्रीलंका सम्मको क्षेत्रमा मुसलधारे वर्षाले व्यापक क्षति भएको अन्तर्राष्ट्रिय समाचारहरूले जनाएका छन्।
आजदेखि नेपालमा हिउँदे मौसम औपचारिक रूपमा सुरू भएको छ। मंसिर १५ गते अर्थात् डिसेम्बर १ तारिखदेखि हिउँदे मौसमी प्रणाली सक्रिय मानिने प्रचलन छ।


