काठमाडौं, १५ मंसिर – नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ गतेदेखि काठमाडौंमा हुने पक्का भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेपछि मिति टुंगिएको हो।
कार्यतालिका अनुसार पुस १५ गतेदेखि वडा अधिवेशन सुरू हुनेछ। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार पुस २६ देखि २८ गतेसम्म महाधिवेशन सञ्चालन गर्ने निर्णय भएको छ। महतका अनुसार १५औँ महाधिवेशन हुने भएपछि विशेष महाधिवेशनको आवश्यकता नरएको स्पष्ट भएको छ।
पार्टी सभापति शेरबहादुर देउवाले बिहानै असन्तुष्ट नेताहरूलाई निवासमा बोलाएर कार्यतालिकामा सहमति जनाउन आग्रह गरेका थिए। यसअघि पदाधिकारी तथा पूर्वपदाधिकारीबीचको छलफलले पनि पुस अन्तिम साता महाधिवेशन गर्ने प्रारम्भिक सहमति बनाएको थियो।
तर सो सहमतिपछि कांग्रेस नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौला लगायतले असन्तुष्टि व्यक्त गरेका थिए। देउवाले बैठकमा कार्यवाहक सभापति खड्काले पेश गरेको प्रस्तावमा सहमति जनाउन असन्तुष्ट नेताहरूलाई सुझाव दिएका थिए।
यस्तो छ कार्यतालिका
विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन पुस १५ गते
गाउँ, नगर र वडा कार्यसमितिको अधिवेशन पुस १६ गते
गाउँ/नगरपालिका अधिवेशन पुस १७ गते
प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एउटा मात्रै निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २१ गते
एकभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते
सातै प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते गते
केन्द्रीय महाधिवेशन पुस २६, २७ र २८ गते
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।


