धादिङ – सिद्धलेक गाउँपालिकामा केही दिन अघि सरुवा भएर आउनु भएकी पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यलाई कार्यपालिकाका सदस्यहरूले स्वागत गर्दै गाउँपालिकाको बिषयबस्तुका बारेमा जानकारी गराएका छन् ।
उपाध्यक्ष सविता अर्यालको नेत्तृत्वमा कार्यपालिकाका सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यलाई गाउँपालिकामा स्वागत गर्दै पालिका भित्र विगतदेखि देखिएका विविध प्रशासनिक तथा वित्तीय समस्याबारे आचार्यलाई जानकारी गराएका हुन् ।
कार्यक्रममा सहभागी सदस्यहरूले चालु आर्थिक वर्षमा साउन देखि अहिले सम्म कार्यपालिकाको बैठकै नबस्नु मुख्य चुनौती भएको बताएका थिए। आर्थिक वर्ष २०८२/०८३ का लागि उपाध्यक्षले गाउँ सभामा पेश गरी पास गरेको बजेटभन्दा करिब सात करोड रुपैयाँ बढी रकम अध्यक्षको इच्छाअनुसार रातो कितावमा समावेश गरिएको भन्दै सो कार्य ऐनविपरीत भएको भन्दै कार्यपालिका सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत आचार्यको ध्यानाकर्षण गराएका थिए ।
दशैंपछि हालसम्म करार कर्मचारीहरूले तलब बुझ्न नपाएको विषयले प्रशासनिक कामकाज प्रभावित भएको जनाउँदै कर्मचारी व्यवस्थापन तत्काल सुधार गर्नु पर्ने बिषयमा कार्यालय प्रमुखको ध्यानाकर्षण गराईएको उपाध्यक्ष सविता अर्यालले खबरसाईटलाई बताउनु भयो । त्यस्तै, पालिका अध्यक्ष बारम्बार बिना जानकारी अनुपस्थित हुने गरेको र समस्याहरू समाधान गर्न उदासीन देखिएको बारेमा पनि कार्यपालिका सदस्यहरुले कुरा उठाएका थिए ।
अध्यक्ष बारम्बार बिना जानकारी लामो समय गाउँपालिकामा अनुपस्थित रहँदा पनि कार्यालयमा कुनै जानकारी नदिने गरेको, अध्यक्षको विवादित गतिविधिका कारण गाउँपालिकाको बदनाम हुँदै गएको, सूचनाको हक कार्यान्वयन, पारदर्शिता,जवाफदेहिता लगायतका बिषयमा गाउँपालिकाको कार्यशैली विवादित हुँदै गएकाले आगामी दिनमा कार्यालय प्रमुखको हैसियतले चासो र सक्रियता देखाउन पनि कार्यपालिका सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई आग्रह गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले प्रमुख प्रशासकीय अधिकृत आचार्यले तत्कालै कार्यपालिकाको बैठक बोलाउन पहल गर्नुपर्ने र प्रशासनिक प्रक्रियाहरूलाई कानुनअनुसार व्यवस्थित गर्न आग्रह गरेका थिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।


