मोरङ- बेलबारी बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा बुहारीले वृद्ध दम्पतीलाई विष मिसाएर खाना खुवाएको घटनामा ७७ वर्षीय इन्द्रमाया राईको मृत्यु भएको छ भने उनका ७० वर्षीय श्रीमान् भक्तबहादुर राईको अवस्था गम्भीर रहेको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो घर नजिकैको खोल्सामा बेहोस अवस्थामा भेटिएका भक्तबहादुर र घरमै बेहोस फेला परेकी उनकी पत्नीलाई स्थानीयले उद्धार गरी विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरेका थिए। उपचाररत इन्द्रमायाको आईसीयूमा राति १०:४० बजे मृत्यु भएको डीएसपी हरिनन्दन चौधरीले जानकारी दिएका छन्। मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ। भक्तबहादुरको हालसम्म अवस्था गम्भीर नै रहेको छ।
प्रारम्भिक अनुसन्धानबाट भवनभित्र खोरमा राखिएका तीनवटा कुखुरा पनि मरेको पाइएको र घटनाको प्रकृति हेर्दा खानामा विष प्रयोग भएको आशंका रहेको डीएसपी चौधरीले बताए। घटनास्थलबाट विषादीको बट्टा पनि फेला परेको तर बट्टा जलाएर नष्ट गरिएको पाइएकाले कुन किसिमको विष प्रयोग भएको पुष्टि हुन बाँकी छ। फरेन्सिक परीक्षण र प्रयोगशाला रिपोर्टपछि मात्र विषको पहिचान र घटनाको वास्तविक कारण निस्कने प्रहरीले स्पष्ट पारेको छ।
घटनामा वृद्ध दम्पतीसँगै बस्दै आएकी भतिजी बुहारी ३२ वर्षीया सुनीता कार्कीलाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ। सुनीताविरुद्ध कर्तव्यज्यानसम्बन्धी मुद्दा चलाउन प्रहरीले अनुसन्धान अघि बढाएको र पक्राउपछि म्याद थप गरी थप जाँच भइरहेको बताइएको छ। बेलबारी प्रहरी निरीक्षक राजीव गिरी नेतृत्वको टोली घटनाको विस्तृत अनुसन्धानमा सक्रिय रहेको जनाइएको छ।
प्रहरीले सुनीताले सासु-ससुरालाई खाना खुवाएर विष मिश्रण गरेको प्रारम्भिक निष्कर्ष निकालेको डीएसपी चौधरीले बताए तर “किन र कसरी विष प्रयोग गरियो भन्ने विषय हाम्रो प्राथमिक अनुसन्धानको केन्द्रबिन्दु” रहेको थप जानकारी दिए। पोस्टमार्टम रिपोर्ट, फरेन्सिक नतिजा र अन्य प्रमाणहरू संकलन भएसँगै अनुसन्धानको सार्थक निष्कर्ष सार्वजनिक गरिने प्रहरीको भनाइ छ।
घटनाले स्थानीय क्षेत्रमा निकै सनसनी फैलिएको छ। स्थानीयहरूले निष्पक्ष तथा गहिरो अनुसन्धान गरी दोषीलाई कडा कारबाहीमा ल्याउन माग गरेका छन्।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।



