काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैपटक १० जना पूर्वसचिवविरुद्ध मुद्दा दायर गरेको छ। उनीहरू सबैमाथि करिब ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको हो।
मुद्दामा पहिलो अभियुक्तका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव सुशील घिमिरे रहेका छन्। घिमिरे नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का अध्यक्षसमेत भइसकेका छन्। तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि गठन गरेको कार्यदलमा उनी संयोजकको भूमिकामा थिए।
दोस्रो मुख्य अभियुक्त सुरेशमान श्रेष्ठ रहेका छन्। श्रेष्ठ बागमती प्रदेश लोक सेवा आयोगका पूर्वअध्यक्ष हुन्। भ्रष्टाचारको मुद्दा दायरसँगै उनी निलम्बनमा परेका छन्।
यसैगरी पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, र सुरेश आचार्य विरुद्ध पनि अभियोग दायर गरिएको छ। ती सबै हाल सचिवबाट अवकाशप्राप्त भइसकेका छन्। सापकोटाले पर्यटन मन्त्रालयमा सचिवका रूपमा समेत काम गरिसकेका थिए।
अर्थ मन्त्रालयका तत्कालीन सचिव सुमनप्रसाद शर्मा, पूर्वअर्थसचिव एवं तत्कालीन सहसचिव मधुकुमार मरासिनी, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव भेषराज शर्मा, भन्सार विभागका तत्कालीन महानिर्देशक एवं पूर्वसचिव सूर्यप्रसाद आचार्य, र सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार (सचिव) डा. रामकृष्ण तिमल्सेना समेत अभियुक्तको सूचीमा परेका छन्। तिमल्सेना समावेशी आयोगको अध्यक्ष भएर कार्यरत रहे पनि उमेर हदका कारण अवकाशमा गइसकेका छन्।
अख्तियारले उनीहरू १० जना पूर्वसचिवविरुद्ध प्रत्येक जनामाथि ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ ५० पैसा बिगो दाबी गर्दै भ्रष्टाचार निवारण अदालतमा मुद्दा दायर गरेको जनाएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।



