काठमाण्डौं -नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एघारौँ महाधिवेशनमा पदाधिकारी पद छाडेर केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीको समूहमा राजनीतिक संकट देखिएको छ। ओलीका वैचारिक र दरिला समर्थक मानिने ज्ञवालीले साथ छोड्नुले पार्टीभित्र ठूलो हलचल ल्याएको छ।

ज्ञवाली अध्ययनशील, वैचारिक नेता हुन् र विगतमा ओलीको प्रतिरक्षा तथा पार्टी दस्तावेज, संगठन निर्माण र प्रशिक्षणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। तर ओलीले महासचिवमा शंकर पोखरेललाई पुनः दोहोर्‍याएपछि ज्ञवाली असन्तुष्ट बनेका छन्। उनले एउटै व्यक्तिलाई बारम्बार दोहोर्‍याउने प्रवृत्तिको विरोध गर्दै मन दुखेको बताएका छन्।

उम्मेदवारी दर्तापछि भृकुटीमण्डपबाट भावुक हुँदै फर्किएका ज्ञवालीले आफू अब पदाधिकारीबाट सामान्य कार्यकर्ताको भूमिकामा झरेको टिप्पणी गरेका छन्। उनले पार्टीभित्र समान अवसर र प्रतिस्पर्धा नदेखिएको गुनासो गरेका छन्।

पार्टीभित्र केही नेताले ज्ञवालीलाई महासचिव बनाउनुपर्ने मत राखे पनि ओलीले पोखरेललाई निरन्तरता दिएपछि यो स्थिति आएको हो। ज्ञवालीले अन्य समूहको प्रस्ताव अस्वीकार गर्दै स्वतन्त्र रूपमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्, जसलाई एमालेभित्र ओली नेतृत्वका लागि चुनौतीको संकेतका रूपमा हेरिएको छ।

Share.

Comments are closed.

Exit mobile version