सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ४ धुराफाँटमा ३२ वर्षिय शुशिला घिसिङ बम्जनको घरभित्रै आगोले जलेर मृत्यु भएको छ । पेट्रोल छर्केर शरीरमा आगो लगाएर उनको मृत्यु भएको हो । आईतबार बेलुकी करीब साढे चारबजेतिर उनको आफ्नै घरमा आगोले जलेर बम्जनको मृत्यु भएको पाईएको प्रहरीले जनाएको छ । शुशिलाको घरको कोठाभित्रै मृत्यु भएको छ ।

आगोको लप्काले भेट्दा खाटमा बसेका ससुरा दुर्गामान बम्जन समेत जलेर घाईते भएका छन् । उनको दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्गामानको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ । उनी प्यारालाईसिसका बिरामी भएको र भाग्न नसक्दा शरीरको केहि भाग जलेको स्थानीयले जनाएका छन् ।

शुशिलाले चिच्चाएर बचाउन हारगुहार गरेको सुनेपछि स्थानीयहरु घरमा आउँदा गेटमा ताल्चा लगाएको र कोठामा आगो लगाईएको, नन्द मिना घरको गल्लीमा उभिईरहेको र आगो बलिरहेको थियो ।

शुशिलालाई नन्द र सासुले आगो लगाएर हत्या गरेको माईती पक्षको आरोप छ । स्थानीयले सासु मायाँरानीसँग साँचो मागी गेटको ताल्चा खोल्दा उनको मृत्यु भईसकेको पाईएको थियो । माँयारानीले छिमेकीलाई घरको माथिल्लो तलाबाट साँचो झारिदिएकी थिईन । गेटमा ताल्चा लगाएर आगो लगाएर शुशिलाको हत्या गरिएको र छिमेकीले आगो निभाएको पीडितकी आफन्त सरिता स्याङतानले बताएकी छिन् ।

उनलाई ६, ७ वर्षदेखि नै नन्द मिना बम्जन, सासु मायारानी बम्जन र ससुरा दुर्गा बम्जनले निरन्तर मानसिक यातना दिँदै आएको मृतकका माईती पक्षले जनाएका छन् ।

करिब दुई महिनादेखि नन्द मिनाले शुशिलालाई मार्ने धम्कि दिदैं आएको खुलेको छ । मृतक शुशिलाले आफ्ना बहिनी सन्धी तथा भाउजु निर्मलालाई उक्त कुरा जानकारी गराउँदै आएकी थिईन् ।

घटनाको एक घण्टा अगाडि बहिनी सन्धीलाई आफुलाई मार्ने योजना रहेको र नन्दले बिहानैदेखि आजै मार्ने भनेर धम्कि दिईरहेको भनेर जानकारी गराएको सन्धीले आफुलाई बताएको सरिताले जानकारी दिईन् । बहिनीलाई जानकारी गराएको एक घण्टामा नै उनको हत्या भएको माईती परिवारको आरोप छ । आगोले मृतकको पुरै शरीर जलेको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version