धादिङ । नेकपा (एमाले) धादिङका नेता धनबहादुर घलेले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘धादिङको एमालेमा पहिरो जाँदैछ’ भन्दै धारणा सार्वजनिक गरेपछि पार्टीभित्र तरंगफैलिएको छ।  संविधानसभा सदस्यसमेत रहेका शालीन जनजाति नेता घलेको उक्त स्टाटसले एमाले धादिङमा नयाँ बहस सुरु भएको छ।

घलेले पार्टी छोड्न लाग्नुभएको हो  भन्ने प्रश्नको जवाफ दिँदै आफूले पार्टी विभाजनको कुरा नगरेको स्पष्ट पारेका छन्। नेतृत्वको कार्यशैलीका कारण पार्टी समस्या तर्फ धकेलिएको विषय मात्र उठाएको उनको भनाइ छ।

उनका अनुसार धादिङका पुराना तथा अनुभवी नेताहरू लामो समयदेखि पार्टी जिम्मेवारीबाट बाहिर रहँदै आएका छन्। हालको जिल्ला नेतृत्वले ती नेताहरूप्रति अपमानजनक व्यवहार गर्नुका साथै निषेधको राजनीति गरिरहेको आरोप उनले लगाएका छन्।

“पार्टी कुनै क्लब वा संस्था होइन, जहाँ दुई–चार जना भए पुग्छ,” घलेले उल्लेख गरेका छन्, “पार्टी भनेको वैचारिक धारसहितको नेतृत्व र संगठित कार्यकर्ताको संरचना हो।” वर्तमान जिल्ला नेतृत्वले धेरै कार्यकर्ता र पार्टी सदस्यको सम्मान गर्न नसकेको तथा आफूहरू मात्रै सबैथोक हो भन्ने भ्रममा नेतृत्व रहेको उनको टिप्पणी छ।

घलेले नेतृत्वले आफ्ना कमजोरी सच्याएर आत्मआलोचना गर्नुपर्ने र सबैप्रति सम्मान तथा समान व्यवहार गर्नुपर्नेमा जोड दिएका छन्। अहिलेकै शैलीमा पार्टी सञ्चालन गरिए पुराना नेता–कार्यकर्ताहरू क्रमशः निष्क्रिय हुँदै जाने र त्यो प्रक्रिया सुरु भइसकेको उनको चेतावनी छ।

उल्लेखनीय रूपमा, नेकपा (एमाले) धादिङका नेताहरू दल–बलसहित पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पुष्पगुच्छा दिएर सम्मान गर्न पुगेकै दिन घलेले पार्टीभित्र ‘पहिरो’ जाने चेतावनी दिएका हुन्।

यसैबीच, घले एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा धादिङ जिल्लाबाट प्रतिनिधि बन्न इच्छुक भए पनि जिल्ला नेतृत्वले रोक लगाएको विषय पनि बाहिर आएको छ। यही कारणले उनले असन्तुष्टि सार्वजनिक गरेको हुन सक्ने अनुमान गरिएको छ, यद्यपि यसबारे पार्टीको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।

एमाले धादिङका अध्यक्षमा भूमि त्रिपाठी केन्द्रिय सदस्यमा निर्वाचित भएपछि जिल्ला नेत्तृत्व अब उपाध्यक्षले पाउने निश्चित भईरहेको बेला जिल्लाका पूर्व उपाध्यक्ष घलेको यो स्टाटसले एमाले धादिङमा नयाँ बहस शुरु भएको छ । २०५४ सालमा एमालेको जिल्ला कमिटी सदस्य भएका बिज्ञपाठी २०६० सालमा जिल्लाको सचिव ,उपाध्यक्ष हुँदै २०७२ साल देखि जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका थिए । २२ बर्ष जिल्लाको नेत्तृत्व लिएपछि त्रिपाठी केन्द्रिय समितिमा प्रवेश गरे संगै अबको नेत्तृत्व कस्ले लिने र कस्तो हुने भन्ने बिषयले छलफलमा प्रवेश भएको छ ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version