काठमाडौं । आजका बालबालिकाको दैनिकीमा तयारी तथा प्याकेटमा पाइने खानेकुरा सामान्य बन्दै गएका छन्। चाउचाउ, बिस्कुट, चिजबल्स, पिज्जा, बर्गरजस्ता खानेकुरा स्वादिला, सजिला र आकर्षक भएकाले बालबालिकाले रुचाउनु स्वाभाविक हो। व्यस्त जीवनशैलीका कारण अभिभावकले पनि समयको अभावमा यस्ता खानेकुरा टिफिनमा राखिदिने वा घरमा सजिलै खुवाइदिने गरेका छन्। तर यिनै सजिला विकल्पहरूले बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन गम्भीर असर पारिरहेको तथ्यलाई बेवास्ता गर्न मिल्दैन।

तयारी तथा प्रशोधित खानेकुरामा अत्यधिक मात्रामा नुन, चिनी, बोसो र विभिन्न रासायनिक संरक्षक तत्व प्रयोग गरिन्छ। यी पदार्थले खानेकुरालाई लामो समयसम्म बिग्रन नदिए पनि शरीरभित्र बिस्तारै नकारात्मक प्रभाव पार्छन्। तत्काल कुनै समस्या नदेखिन सक्छ, तर समयसँगै यसले शरीरमा रोगको जग बसाल्दै लैजान्छ। जसरी चुरोट र रक्सीले एकै दिनमा असर नदेखाए पनि दीर्घकालमा गम्भीर रोग निम्त्याउँछन्, त्यसैगरी यस्ता तयारी खानेकुराले पनि ढिलो असर गर्ने तर खतरनाक परिणाम ल्याउँछन्।

यस्ता खानेकुराको नियमित सेवनले बालबालिकामा मोटोपन बढाउँछ। सानै उमेरमा मोटोपन देखिनु केवल तौल बढ्नु मात्र होइन, यो भविष्यका धेरै रोगहरूको सुरुवात हो। मोटोपन भएका बालबालिकामा पछि मुटुका रोग, चिनी रोग, हड्डी कमजोर हुने, ढाड र घुँडा दुख्ने समस्या देखिने सम्भावना धेरै हुन्छ। बाल्यकालमै शरीरमा अतिरिक्त बोसो जम्न थालेपछि त्यसलाई नियन्त्रण गर्न वयस्क उमेरमा निकै कठिन हुन्छ। यसले शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यमा पनि असर पुर्‍याउन सक्छ।

यसका साथै तयारी खानेकुराले बालबालिकाको पोषण अवस्थालाई पनि कमजोर बनाउँछ। पेट भरिएजस्तो लागे पनि यस्ता खानेकुरामा शरीरलाई आवश्यक भिटामिन, खनिज र पोषण तत्व पर्याप्त हुँदैनन्। जब बालबालिकाले यस्ता खानेकुरा बढी खान थाल्छन्, तब उनीहरू भात, दाल, तरकारी, फलफूलजस्ता प्राकृतिक र पोषणयुक्त परिकारप्रति आकर्षित हुँदैनन्। यसको परिणामस्वरूप शरीरको वृद्धि र विकासमा अवरोध आउँछ र रोगसँग लड्ने क्षमता कमजोर हुन्छ।

विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले तयारी तथा प्रशोधित खानेकुरा र क्यान्सरबीच सम्बन्ध रहेको देखाएका छन्। यस्ता खानेकुरामा प्रयोग गरिने मैदा, अत्यधिक चिल्लो पदार्थ र रासायनिक तत्वले दीर्घकालमा क्यान्सरको जोखिम बढाउने प्रमाण भेटिएको छ। महिलामा स्तन, पाठेघर र मूत्रनलीसम्बन्धी क्यान्सरको सम्भावना यस्ता खानेकुरासँग जोडिएको तथ्य अनुसन्धानले देखाएको छ। बाल्यकालमै गलत खानपानको बानी बसालियो भने त्यसको असर वयस्क जीवनमा क्यान्सरजस्ता गम्भीर रोगका रूपमा देखा पर्न सक्छ।

असन्तुलित खानपानले बालबालिकाको पढाइ र व्यवहारमा पनि असर पार्छ। पोषणको कमी भएका बालबालिकामा थकान, चिडचिडापन, ध्यान केन्द्रित गर्न गाह्रो हुने र स्मरणशक्ति कमजोर हुने समस्या देखिन सक्छ। यसले विद्यालयको सिकाइ प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्छ। स्वस्थ शरीर बिना स्वस्थ मस्तिष्क विकास हुन सक्दैन भन्ने तथ्यलाई यसले पुष्टि गर्छ।

बालबालिका यस्ता खानेकुरातर्फ आकर्षित हुनुको एउटा ठूलो कारण विज्ञापन पनि हो। टेलिभिजन, मोबाइल र सामाजिक सञ्जालमा देखाइने चम्किला विज्ञापनले बालबालिकालाई सजिलै लोभ्याउँछन्। देखासिकी गर्ने स्वभावका कारण उनीहरूले विज्ञापनमा देखिएको जस्तै खान पाए आफू पनि त्यस्तै बन्ने सोच विकास गर्छन्। उनीहरू यस्ता खानेकुराको दीर्घकालीन असर बुझ्न सक्दैनन्, त्यसैले यहाँ अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।

बालबालिकाले के खाने भन्ने निर्णय अन्ततः अभिभावकले नै गर्ने हो। हामी आमाबाबुले बच्चालाई हात नधोई खान नदिने, फोहोर खान नदिने कुरामा कडाइ गर्छौं, तर प्याकेटमा आएको खानेकुरा सुरक्षित होला भन्ने भ्रममा सजिलै दिन्छौं। धेरै अभिभावकलाई यस्ता खानेकुराको दीर्घकालीन असरबारे पर्याप्त जानकारी नहुनु पनि एउटा कारण हो। तर जानकारी नहुनु अब बहाना बन्न सक्दैन।

बालबालिकालाई स्वस्थ राख्न अभिभावकले घरमै बनाइएको सन्तुलित र साधारण खाना प्राथमिकतामा राख्नुपर्छ। बच्चाले नमान्ला कि भन्ने डरले सजिलो विकल्प रोज्नु दीर्घकालमा उनीहरूको स्वास्थ्यसँग सम्झौता गर्नु हो। बालबालिकालाई डर देखाएर होइन, उनीहरूले बुझ्ने सरल भाषामा सही खानपानको महत्व बुझाउन सकियो भने बानी परिवर्तन सम्भव छ। अभिभावक स्वयंले स्वस्थ खानपान अपनाएर उदाहरण प्रस्तुत गर्नु झन् प्रभावकारी हुन्छ।

अन्ततः बालबालिकाको स्वास्थ्य आजको मात्र होइन, भोलिको भविष्यसँग जोडिएको विषय हो। सानै उमेरमा सही खानपानको बानी बसाल्न सकेमा उनीहरू स्वस्थ, सक्षम र आत्मनिर्भर नागरिक बन्न सक्छन्। तयारी तथा प्याकेटका खानेकुरा सुविधाजनक देखिए पनि बालबालिकाको स्वास्थ्यका लागि ढिलो असर गर्ने तर गम्भीर जोखिम बोकेका छन्। विद्यालय र अभिभावक दुवै सचेत र जिम्मेवार बनेमा मात्र बालबालिकालाई उज्यालो, स्वस्थ र सुरक्षित भविष्यतर्फ डोर्‍याउन सकिन्छ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version