डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका-९ स्थित कुयापानीमा शनिबार साँझ ट्याक्टर र मोटरसाइकलले ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र उस्तै ठाँउका ३५ वर्षीय मान जाग्री गम्भीर घाइते भएका थिए । दुबैलाई जोगबुढा अस्पताल लगिएको थियो । तर डाक्टरले दुवैलाई मृत घोषित गरेको जिल्ला प्रहरी प्रमुख वरुणबहादुर सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार, जोगबुढा–दैजी सडकखण्डमा जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से२त १४७४ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आइरहेको म१प ९९७३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

घटनामा परशुराम नगरपालिका नै घर भएका ३२ वर्षीय ट्याक्टर चालक सुरेश भट्ट फरार रहेको र उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

 

Share.

Comments are closed.

Exit mobile version