धादिङ । जन्मदिनलाई केक र शुभकामनाको औपचारिकताभन्दा माथि उठाउँदै धादिङको ज्वालामुखी गाउँपालिका–७ चैनपुरका युवा रोनिक छत्कुलीले सेवा र सहानुभूतिलाई रोजेका छन् । उनले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै अपाङ्गता भएका बालबालिकाका अनुहारमा मुस्कान भर्ने कार्य गरेका छन् ।

आइतबार छत्कुलीले नीलकण्ठ नगरपालिका–३ शान्तिटोलमा रहेको नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयमा अध्ययनरत बालबालिकाका लागि खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरेका हुन् । बिहानै विद्यालय पुगेका उनले सामग्री हस्तान्तरण गर्दै बालबालिकासँग समय बिताएका थिए ।

कक्षा १२ उत्तीर्ण गरी उच्च शिक्षाको तयारीमा रहेका छत्कुलीले अपाङ्गता भएका बालबालिकाले दैनिक जीवनमा भोग्नुपर्ने चुनौतीलाई नजिकबाट बुझेर सहयोग गर्ने निर्णय गरेको बताए । “जन्मदिन मेरो व्यक्तिगत खुसीको दिन मात्र होइन, अरूको जीवनमा सानो भए पनि सहजता ल्याउने अवसर हो,” उनले भने, “यो सहयोगले बालबालिकाको दैनिकीमा केही राहत मिलोस् भन्ने चाहना छ ।”

नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयमा हाल ३० जना अपाङ्गता भएका बालबालिका अध्ययनरत छन् । विद्यालयकी प्रधानाध्यापक शर्मिला अधिकारीले युवाले जन्मदिनलाई सामाजिक सेवासँग जोडेर उदाहरणीय कार्य गरेको भन्दै खुसी व्यक्त गरिन् । “यस्ता सकारात्मक पहलले समाजमा मानवता, आशा र सहकार्यको सन्देश फैलाउँछ,” उनले भनिन् ।

युवावर्गबाट देखिएको यस्तो संवेदनशील पहलले व्यक्तिगत खुसीलाई सामूहिक हितसँग जोड्न सकिने सन्देश दिएको स्थानीयवासीको प्रतिक्रिया छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version