काठमाडौँ । कृत्रिम खुट्टाको सहारामा पूर्व गोर्खा सैनिक हरि बुढामगरले विश्वका सातै महादेशका अग्ला शिखर आरोहण गरेर नयाँ इतिहास रचेका छन्। उनले यही पुस २२ गते करिब माइनस २५ डिग्री सेल्सियस चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गर्दै आफ्नो ‘सेभेन समिट्स’ यात्रा पूरा गरेका हुन्।

समुद्री सतहदेखि ४,८९२ मिटर उचाइमा रहेको माउन्ट भिन्सन सफलतापूर्वक आरोहण गरेसँगै रोल्पाको थवाङ गाउँपालिका–स्थित मिरुलमा जन्मिएका बुढामगर विश्वभर फरक क्षमता भएका व्यक्तिहरूका लागि साहस र प्रेरणाको प्रतीक बनेका छन्।

आफ्नो अनुभव सुनाउँदै बुढामगरले भने, “शरीरको कुनै अङ्गमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन। मेहनत र आत्मविश्वास भए असम्भव भन्ने केही हुँदैन।” अत्यधिक चिसो, तीव्र हावा र शारीरिक पीडाबीच पनि आफूले लक्ष्य नछोडेको उनले बताए।

बुढामगरले यसअघि सगरमाथा (८,८४८.८६ मिटर), अफ्रिकाको किलिमन्जारो, उत्तर अमेरिकाको डेनाली, दक्षिण अमेरिकाको एकोनकागुआ, ओसिनियाको पुन्चाक जयु र युरोपको मोन्ट ब्ल्याङ्क आरोहण गरिसकेका छन्। दुवै खुट्टाको घुँडामुनिको भाग गुमाएर सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने उनी पहिलो नेपाली बनेका छन्।

सन् २०१० मा अफगानिस्तानमा तालिवानसँगको युद्धका क्रममा भूमिगत बम विस्फोटबाट दुवै खुट्टा गुमाएका बुढामगर हाल बेलायतमा बस्दै आएका छन्। उनले आफ्नो यो सफलता विश्वभर अपाङ्गता भएका व्यक्तिहरूलाई समर्पित गरेको बताएका छन्।

बुढामगर माघ १ गते नेपाल फर्किने कार्यक्रम रहेको छ।

 

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version