काठमाडौँ ।माघे संक्रान्ति नजिकिँदै जाँदा कालीमाटी तरकारी बजारमा तरुलको आपूर्ति र कारोबार दुवै बढेको छ। पर्व आउन अब चार दिन मात्र बाँकी रहँदा दैनिक तरुल बोकेका गाडीहरू बजार पुग्न थालेका छन्।
तराईका सर्लाही, नवलपरासीसहितका जिल्ला तथा पहाडी क्षेत्र धादिङ,नुवाकोट र सिन्धुलीबाट काठमाडौंमा तरुल भित्रिने गरेको छ। आइतबार बिहान कालीमाटी बजारमा गाडीबाट तरुल अनलोड गर्ने मजदुरको चहलपहल देखिन्थ्यो भने व्यापारीहरू पसलमा तरुल मिलाएर सजाउने काममा व्यस्त थिए।
माघे संक्रान्ति नजिकिँदै जाँदा तरुल खरिद गर्ने ग्राहकको संख्या पनि बढ्दै गएको छ। तरुलको जातअनुसार मूल्य फरक–फरक रहेको छ। आइतबार बिहान आकाशे तरुल प्रतिढक (पाँच किलो) ६ सय रुपैयाँमा बिक्री भइरहेको व्यापारीहरूले बताए।
माघे संक्रान्तिमा तरुलसँगै पिँडालु, सखरखण्डलगायत विभिन्न कन्दमूल खाने चलन छ। कालीमाटी बजारमा हाल आकाशे तरुल, नेपाली तरुल, रातो तरुल, सिँगाने पिँडालु, दुधे पिँडालु, घरतरुल, वनतरुल, पाँचऔंले, सिमल तरुल, पानी तरुल, हात्तीपाइले र पातले तरुललगायत कन्दमूलको किनबेच भइरहेको छ।
पर्व नजिकिँदै जाँदा तरुल तथा कन्दमूलको माग अझै बढ्ने व्यापारीहरूको अनुमान छ।
।
