काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा नेतृत्वको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। सर्वोच्च अदालत प्रशासनले रिटको पेसी माघ ६ गतेका लागि तोकेको छ।
रिट आजै दर्ता गरी तत्काल पेसी तोक्न माग गरिए पनि सर्वोच्च प्रशासनले नियमावलीका कारण आजै सुनुवाइ सम्भव नभएको जानकारी दिएको छ। देउवा समूहका तर्फबाट तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दायर गरेका हुन्।
रिटमा निर्वाचन आयोगको निर्णयका कारण नेपाली कांग्रेसको ठूलो हिस्सा पार्टीविहीन बन्ने र आगामी निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने गम्भीर अवस्था सिर्जना हुन सक्ने दाबी गरिएको छ। यही कारण देखाउँदै खड्कासहित देउवा समूहका नेताहरूले आजै रिट दर्ता गरेर आजै पेशी चढाउन आग्रह गरेका थिए। तर सर्वोच्च प्रशासनले नियमअनुसार प्रक्रिया पूरा नगरी तत्काल पेसी तोक्न नमिल्ने स्पष्ट पारेको छ।
देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी दुवै रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सर्वोच्च अदालतको ढोका ढक्ढक्याइएको हो।
उता, गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरी नयाँ केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ। विशेष महाधिवेशनबाट गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका छन्। निर्वाचन आयोगले सोही कार्यसमितिलाई पार्टीको आधिकारिक संरचना मान्यता दिएपछि कांग्रेसभित्रको विवाद कानुनी संघर्षतर्फ मोडिएको हो।
अब माघ ६ गते हुने सर्वोच्च अदालतको पेसीले नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्णायक मोड ल्याउने अपेक्षा गरिएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।



